एजेन्सी। रुसी सेना युक्रेनको राजधानी किभमा प्रवेश गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पूर्वी र दक्षिणी सिमा भएर रुसी सेना राजधानी प्रवेश गरेसँगै राजधानी किभमा विस्फोटका आवाज पनि सुनिन थालेका छन्।
यसैबीच, युक्रेनको रक्षा मन्त्रालयले एक ट्वीट गर्दै सबै नागरिकहरूलाई उमेरको ख्यालै नगरी देशको प्रतिरक्षामा उत्रिन आह्वान गरेको छ।
मन्त्रालयले सेनामा भर्ती हुनका लागि अहिले कुनै पनि प्रावधान नराखिएको बताउँदै ‘युक्रेनलाई यतिबेला सबैकुराको आवश्यकता’ रहेको उल्लेख गरेको छ। नाबालिग पनि सेनामा भर्ती हुन सक्ने युक्रेनी सेनाले बताएको छ।
रुसले युक्रेनमा आगामी ३० घण्टा सम्म ‘विशेष सैन्य अपरेसन’ जारी राख्ने उल्लेख गर्दै युक्रेनका लागि यो ‘हालसम्मकै कठिन समय’ भएको रक्षा मन्त्रालयको ट्विटमा उल्लेख छ।