भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै

  • प्रकाशित मिति : २०७९ जेष्ठ २, सोमबार
  • nepaltale.com

लुम्बिनी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै छन् । बिहान साढे १० बजे वायु सेनाको हेलिकोप्टरमार्फत लुम्बिनी उत्रने कार्यक्रम रहेको छ । भारतिय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हिजो नै लुम्बिनी पुगेका छन् ।

प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पुुजा गर्ने कार्यक्रम छ । त्यसपछि भारतको संस्कृति मन्त्रालयले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम छ ।

अपराह्न दुवै मुलुकका प्रधानमन्त्रीले २५६६ औं बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ । दुवै मुलुकका प्रधानमन्त्री समारोहमा सहभागी हुने भएपछि लुम्बिनीको ।

सुरक्षा स्रोतका अनुसार नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । मायादेवी मन्दिरमा पूजा र भारतीय विहार शिलान्यासपछि प्रधानमन्त्री मोदीले लुम्बिनी नजिकै रहेको पाँचतारे होटल पवन प्यालेसमा गएर विश्राम गर्ने कार्यक्रम छ ।

त्यहाँ प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीलाई दिवा भोज आयोजना गर्नेछन् । उक्त होटलमै दुवै प्रधानमन्त्रीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षरको कार्यक्रम छ ।

यसअघि सन् २०१४ डिसेम्बर १० मा प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउने तय भएको थियो । यहाँ सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा अन्तिम चरणमा उक्त भ्रमण रद्द भएको थियो । यसपटक भ्रमण सफल हुने भएपछि यहाँका पर्यटन व्यवसायी र बौद्ध धर्मावलम्बी लुम्बिनीको प्रवर्द्धन हुने विश्वासले उत्साहित छन् ।