भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, मृत्युदर र संक्रमितको संख्या अहिलेसम्मकै उच्च

  • प्रकाशित मिति : २०७७ बैशाख २३, मंगलवार
  • nepaltale.com

भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण झनै बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा अहिलेसम्मकै बढी मृत्युदर र संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा १७५ जनाको मृत्यु भएको छ भने ३ हजार ९ सय २४ जना नयाँ संक्रमित फेला परेका छन्। अघिल्लो दिन भारतमा २ हजार ८ सय ६ जना नयाँ संक्रमित थपिएका थिए भने ६८ जनाको मृत्यु भएको थियो।

यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६६ पुगेको छ भने ४६ हजार ४ सय ३७ जना संक्रमित भएका छन्। जसमध्ये १२ हजार ८ सय ४७ जनाको उपचार सफल भएको छ भने ३२ हजार २४ जनाको उपचार भइरहेको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१२ देशमा फैलिएको छ। कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर २ लाख ५२ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ भने ३६ लाख ४४ हजार ७ सय ९५ जना संक्रमित भएका छन्।