काठमाडौं। सरकारले कर्मचारीको तलब बढाउने तयारी गरेको छ । जेठ १५ गते सार्वजनिक हुने बजेटमार्फत् सरकारले कर्मचारीको तलब बृद्धि गर्न लागेको हो ।
अर्थमन्त्रालयले कर्मचारीको तलब बढाउनेबारे विभिन्न विकल्पमाथि छलफल गरिरहेको उच्चस्रोतले जानकारी दिएको छ । ‘तलब बढाउन तीन–चारवटा प्रक्रियामा छलफल चलिरहेको छ।
गत वर्ष जस्तै सबैलाई एकैनासले तलब बढाउने, एउटै प्रतिशतका दरमा बढाउने वा तल्लोदेखि माथिल्लो तहका कर्मचारीलाई भिन्नभिन्न प्रतिशतका दरले बढाउने भन्ने विषयमा छलफल भइरहेको छ,’ अर्थमन्त्रालयका एक उच्च अधिकारीले भने, ‘तलब नबढाएर महँगी भत्ता थप गर्ने कि भन्ने विषयमा पनि छलफल केन्द्रित छ।’
अहिले सबै कर्मचारीले एक हजार रूपैयाँ महँगी भत्ता पाइरहेका छन् । बजेट शुक्रबार संसदमा पेश हुँदैछ । तर कुन प्रक्रियामा तलब बढाउने भन्नेमा निर्णय भइसकेको छैन ।
कर्मचारीको तलबभत्ता पुनरवलोकन गर्दा राष्ट्र बैंकले प्रकाशन गर्ने महँगीको दरलाई मुख्य आधार मानिन्छ। यो वर्ष अहिलेसम्म महँगी साढे ७ प्रतिशत पुगेको छ। पछिल्ला दुई वर्षमा भने यो दर ५ प्रतिशत हाराहारीमा थियो।