लण्डन । चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ बेलायतका विभिन्न स्थानमा प्रर्दशन गर्नका लागि ह्याम्पसायर एकाउन्टेन्टस्’ले आर्थिक सहयोग गरेको छ ।
भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित उक्त चलचित्र प्रदर्शनीका लागि एकाउन्टेन्टस्’ले प्रायोजन गरेको हो ।
परोपकारी कार्यसगैं मनोरञ्जन प्रदान गर्ने र गोर्खाहरुको विरतालाई झल्काउने गरी निर्माण भएको उक्त चलचित्रसगं सहकार्य गरेर समाजसेवामा लाग्ने अभिप्रायका साथ सहयोग गरिएको ‘ह्याम्पशायर एकाउन्टेन्टस्’ का निर्देशक भाइराजा थापाले बताए ।
फिल्मबाट प्राप्त मुनाफा च्यारिटीस्वरूप गोर्खा वेलफेयर सोसाइटीलाई प्रदान गर्ने चलचित्र निर्माताहरुको उद्धेश्य रहेको छ । बेलायतको रेडिङ, स्वीन्डन, बेजिङस्टोक, ब्रेकन, टिडवर्थ, वेम्ब्ली, प्लमस्टिड, मोर्डन आदिमा चांडै प्रदर्शनी हुन गइरहेको उक्त फिल्मलाई सहयोग गर्नुका साथै निशुल्क एकाउन्ट सुविधासमेत उपलब्ध गराएको उनले बताए ।
उनले आफ्नो संस्थाबाट नेपालका मात्रै नभएर विभिन्न देशका समस्यामा परेका नागरिकहरुलाई सहायता प्रदान गर्ने देखि नेपालीद्वारा आयोजना गरिने थुप्रै सामाजिक गतिविधिमा समेत सहयोग गर्दै आएको जानकारी दिए ।
२५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गर्दा युद्धमा दोस्रो बटालियन, थर्ड क्वीन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए र २६ सेप्टेम्बरदेखि नै थापा पीडितहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त भएको थियो ।
उनै कुलवीर थापाको कथामा यो फिल्म बनेको हो । यस फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।