बेलायतमा उर्जाको मूल्यमा ८० प्रतिशतले वृद्धि

  • प्रकाशित मिति : २०७९ भाद्र १०, शुक्रबार
  • nepaltale.com

लण्डन । बेलायतमा उर्जाको मूल्यमा ८० प्रतिशतले वृद्धि गरिएको छ ।

बेलायतका चार राज्यहरुमध्ये उत्तरी आयरल्याण्डबाहेक तीन राज्यमा उर्जा सम्बन्धी नियामक निकाय अफिस अफ ग्याँस एण्ड इलेक्ट्रिसिटी मार्केट्स (अफजेम)ले शुक्रबार बिहान जारी गरेको नयाँ मूल्यअनुसार प्रति घर उर्जाको वार्षिक मूल्य ३ हजार ५४९ पाउण्ड तोकिएको छ ।

अहिले सो मूल्य १ हजार ९७१ पाउण्ड थियो ।

यो उर्जा प्रदायक कम्पनीहरुले उपभोक्तालाई लगाउन सक्ने अधिकतम मूल्य हो । तर यसअघि उपभोक्ता कम्पनीसित निश्चित मूल्यको योजनामा रहेका वा हरित उर्जासम्बन्धी योजनामा रहेका ग्राहकहरुलाई भने यो मूल्य लागू हुने छैन ।

नयाँ उर्जा मूल्य अक्टोबर १ बाट लागू हुनेछ । नयाँ उर्जा मूल्यको अर्थ अब बेलायतका करिब २ करोड ४० लाख घरले कम्तीमा मासिक ३०० पाउण्ड उर्जाका लागि तिर्नुपर्ने हुन्छ । तथापि ठूलो घर र उर्जा धेरै खपत गर्ने घरहरुका लागि सो मूल्य अझै धेरै हुनेछ ।

अफजेमका प्रमुख कार्यकारी अधिकृत जोनाथन ब्रेयरले रसियाले युक्रेनमा गरेको आक्रमणका कारण उर्जाको मूल्य बढाउनु परेको बताएका छन् । उनले उर्जाको चर्को मूल्यका कारण समस्यामा परेका परिवारलाई सहयोगका लागि सरकार, उर्जा प्रदायक सबै मिलेमा उपायहरु निकाल्न सकिने बताएका छन् ।

उता उर्जाको चर्को मूल्यबाट जनतामा परेको प्रभावलाई सम्बोधन गर्न केही नयाँ योजना ल्याउन नसकेका बेलायतका अर्थमन्त्री नदिम जाहावीले भने सहयोगका लागि केही राहत आउँदै गरेको बताएका छन् । उनका अनुसार अक्टोबरमा हरेक घरपरिवारले ४०० पाउण्ड, राज्यबाट विनिफिट पाउनेहरुले थप ६५० पाउण्ड र पेन्सनरहरुले थप ३०० सहयोग पाउने छन् । तर यी सबै प्याकेज पूर्व अर्थमन्त्री ऋषि सुनकले ल्याएका हुन् ।

बेलायतको वर्तमान सरकारले सेप्टेम्बर ५ मा नयाँ प्रधानमन्त्री चयन हुने भएकाले उर्जा संकटलाई सम्बोधन गर्न कुनै कार्यक्रम नल्याउने घोषणा गरिसकेको छ । नयाँ प्रधानमन्त्रीको दौडमा रहेका ऋषि सुनक र लिज ट्रस दुवैले अहिलेसम्म उर्जा संकटलाई सम्बोधन गर्न कुनै कार्यक्रमको विस्तृत ढाँचा पेश गरेका छैनन् । उता प्रमुख प्रतिपक्षी दल लेबरले भने अहिले अक्टोबरका लागि घोषणा भएको उर्जाको मूल्य नै आगामी दिनका लागि कायम गर्नुपर्ने प्रस्ताव गरेको छ ।

बेलायतको उर्जा सम्बन्धी नियामक निकाय अफजेमले पहिले हरेक ६ महिनामा उर्जाको अधिकतम मूल्य तोक्ने गरेकोमा अहिले बजार धेरै अस्थीर भएको भन्दै हरेक ३ महिनामा तोक्न थालेको छ । अफजेमले अहिले तोकेको मूल्य तीन महिनाका लागि मात्र कायम हुने छ र जनवरी १ देखि लागू हुने नयाँ मूल्य घोषणा हुनेछ ।

उता विश्लेषकहरुले भने जनवरी २०२३ मा उर्जाको मूल्य झनै वृद्धि हुने प्रक्षेपण गरेका छन् । कोर्नवाल एनालिष्टले जनवरीमा उर्जाको प्रति घर वार्षिक मूल्य ५ हजार ३८६ पाउण्ड पुग्ने अनुमान गरेको छ । उता अफजेमले पनि सन् २०२३ भरि नै उर्जाको मूल्य अझै खराब हुने बताएको छ ।