विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक सय सिटभन्दा कममा गठबन्धनमा जान नसकिने बताएका छन् ।
उनले कांग्रेस कमजोर नभएको भन्दै एक सय सिट बटमलाईन भएको स्पष्ट पारे । पाँच दलीय सत्ता गठबन्धनमा दलहरुबीच सिट बाँडफाँटमा छलफल भइरहेका बेला कांग्रेसका नेता कोइरालाले सय सिट कांग्रेसले पाउनुपर्ने अडान राखेका हुन् ।
शनिबार नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो । एक सय भन्दा कम सिट लिएर गठबन्धन गरी चुनाव लड्न सकिन्न।’
उनले अन्य दलहरुले दावी गरेकै आधारमा सिट छोड्न नसकिने प्रष्ट पारे । उनले भने, अरु दलले दावी गरेकै भरमा कांग्रेसले सिट छोड्दैन । जित्ने आधार चाहिन्छ ।’
कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर शनिबारदेखि जनतासँग कांग्रेस अभियान सुरु गरेको हो ।