दशौँ ग्रीनवीच महोत्सव भोलि, यसपटक झन् धेरै आकर्षण

  • प्रकाशित मिति : २०७९ भाद्र १७, शुक्रबार
  • nepaltale.com

लन्डन। पछिल्ला केही वर्षदेखि साउथ इष्ट लन्डनको नेपाली मेलाकै रुपमा आयोजना हुँदै आएको ग्रीनवीच महोत्सव यस पटक झन् व्यापक हुने भएको छ।

यही सेप्टेम्बर ३ तारिख शनिबार वुल्लीच आर्टिलरी ब्यारेकको मैदानमा आयोजना गरिने दशौँ ग्रीनवीच महोत्सव प्रस्तुति र सहभागिता दुवै हिसाबले विगतमा भन्दा झन् भव्य बन्ने आयोजक नेपाली युथ एसोसिएसन यूकेले जनाएको छ।

एशोसिएसन अध्यक्ष एवम् महोत्सव संयोजक लछुमन गुरुङले कार्यक्रमलाई मेलाकै रुपमा व्यापक र मनोरञ्जनात्मक बनाउन कोशिश गरिएको जानकारी दिए।

‘यसपटक हाम्रो कार्यक्रमको दशौँ संस्करण पनि भएकाले थप विशेष अवसर छ’ गुरुङले भने,’ स्पोर्टस, म्युजिक र फुडका साथै स्थानीय नेपालीहरुबीच आत्मीयता र सद्भाव बढाउने कार्यमा पनि महोत्सव सहयोगी बनोस् भन्ने हाम्रो अपेक्षा छ।’

महोत्सव ‘फेमिली डे आउट’ का लागि उपयुक्त अवसर बन्ने समेत उनको दाबी छ। बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म्म चल्ने महोत्सवमा प्रवेश निशुल्क छ।

ग्रीनवीच महोत्सवको प्रमुख आकर्षण ग्रीनवीच कप फुटबल प्रतियोगिता हो।खुलातर्फ बेलायतभरका जम्मा १२ टीमबीच प्रतिस्पर्धा हुनेछ भने ४ टीम भेट्रानहरुबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा गराइनेछ।

प्रतियोगिताको विजेतालाई ग्रीनवीचकपसंगै १५ सय पाउन्ड नगद र मेडल  पुरस्कार प्रदान गरिनेछ।  दोस्रो हुनेलाई ७ सय पाउन्ड नगदसहित मेडल छ। भेट्रानका विजेतालाई पनि ट्रफी र मेडल पुरस्कार दिइनेछ।

लाइभ सांगीतिक प्रस्तुति पनि महोत्सवको अर्को आकर्षक पक्ष छ। नेपालबाट आएका लोकदोहोरी कलाकारहरु राजन कार्की, विशाल रायमाझी, अनुपा रोका र रेशम निर्दोषले प्रस्तुति दिंदैछन्।साथमा, स्थानीय दाजुभाइ ब्यान्ड र आर्केन ब्यान्डको लाइभ प्रस्तुति पनि रहनेछन्।

महोत्सवस्थलमा बालबालिकाको लागि मनोरञ्जात्मक खेलहरुसहित ‘चिल्ड्रेन फन पार्क’ राखिनेछ। त्यस्तै, विभिन्न नेपाली खानाका स्टल तथा केही व्यापारिक र च्यारिटी स्टलहरु समेत रहनेछन्।

सोही अवसरमा तमुधिं साउथ इष्टको आयोजना र नेप्लिज नर्सिङ एशोसिएसन यूकेको सहयोगमा ज्येष्ठ नागरिकहरुको लागि निशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन हुनेछ।

महोत्सवमा आकर्षक पुरस्कारहरुसहित राफल ड्र पनि गरिने जनाइएको छ। वुल्लीच आर्सनल राइडर (वार) क्लबको प्रायोजनमा राफलको पहिलो पुरस्कार ‘हाइब्रिड साइकल’  प्रदान गरिनेछ। पाँच पाउन्ड शुल्कको राफल टिकट यहाँ क्लिक गरी अनलाइन लिन सकिनेछ।

महोत्सवको आर्थिक व्यवस्थापन तथा मिडिया संयोजन सम्हालेका नेपाली युथ एशोसिएसन यूके उपाध्यक्ष राजन खकुरालले कार्यक्रम यो वर्ष थप विशेष बन्ने बताए।

‘साउथ इष्टमा आफ्नै इतिहास बनाएको कार्यक्रम हो ग्रीनवीच कप। यासैलाई झन् व्यापक पार्दै पछिल्ल्लो वर्षहरुमा महोत्सवको अवधारणामा गएका छौं’, खकुरालले भने, ‘यसपटक झन् धेरै कार्यक्रम र आकर्षणसहित महोत्सवलाई भव्य बनाउने कोशिश् छ ।’

पारिवारिक वातावरणमा मानोरञ्जन र साथीभाइ जमघट एवम् समुदायसँग अन्तरघुलनका लागि कार्यक्रम उपयुक्त अवसर भएको दाबी गर्दै खकुरालले साउथ इष्ट लन्डन र आसपासका सबै नेपालीलाई सहभागी हुन आव्हान गरे।

महोत्सवलाई सफल पार्न आयोजक नेपाली युथ एशोसिएसनको टीम अहिले युद्धस्तरमा खटिएको छ। अध्यक्ष लछुमन गुरुङ महोत्सव मुख्य संयोजक छन् भने उपाध्यक्ष राजन खकुरालले आर्थिक, स्टल तथा मिडिया संयोजकको जिम्मा सम्हालेका छन्।

त्यसैगरी, स्टेज, म्युजिक तथा मनोरञ्जनमा अर्का उपाध्यक्ष डा सुदर्शन गुरुङ, लजिस्टिक्समा पूर्व अध्यक्ष ह्यारी गुरुङ, फुटबल टुर्नामेन्टमा विवेक गुरुङ र राफल ड्रमा देवेन श्रेष्ठ संयोजकका रुपमा खटिएका छन्।

महोत्सवको मुख्य स्पोन्सर साउथ इष्ट रिजनल तमुधिं छ भने पीपल मोर्गेजेज्, क्यानन्स् सेक्युरिटी र वुल्लीच आर्सनल राइडर (वार) क्लब गोल्ड स्पोन्सर हुन्।

त्यस्तै, सिल्भर स्पोन्सरमा ए स्टार फाइनान्सियल सर्भिसेज्, आर्कस्टोन मेनेजमेन्ट,आरजीएनएस, जीएनसीटी, क्याप्स कन्सल्टेन्सी, पासा पुच: गुठी साउथ इष्ट्, नेपाल फुड्स, सागर गुरुङ र हरि न्यौपाने छन्।