बेलायतमा सोमबार नयाँ प्रधानमन्त्री

  • प्रकाशित मिति : २०७९ भाद्र १९, आईतवार
  • nepaltale.com

लन्डन । बेलायतले झण्डै २ महिनापछि सोमबार दिउसो नयां प्रधानमन्त्री पाउंदैछ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको मतदान प्रक्रिया शुक्रबार बन्द भइसकेको छ ।

दुई प्रतिष्पर्धी ऋषि सुनाक र लिज ट्रसमध्ये एक जना पार्टी नेता चुनिइ प्रधानमन्त्रीका रुपमा टेन डाउनिङ स्ट्रिट प्रवेश गर्नेछन् ।

बेलायती महारानीले मंगलबार औपचारिक रुपमा नयां प्रधानमन्त्री नियुक्त गर्ने कार्यक्रम छ ।

सन् २०१९ को आम निर्वाचनमा वहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सन नयां मन्त्रिपरिषदसंगै बाहिरिनेछन् ।

टोरी सदस्यहरुको सर्वेक्षणमा विदेशमन्त्री ट्रसले स्पष्ट जित हासिल गर्ने देखिएको छ । ट्रसले आफू शक्तिमा आए आपतकालिन बजेटमार्फत अर्बौं पाउण्ट कर कटौती गर्ने वाचा गरेकी छन् । निवर्तमान अर्थमन्त्री सुनाकले उर्जा बीलमा एक वर्षका लागि भ्याट कटौती गर्ने तर स्थायी कर कटौती भने मुद्रास्फीति तल नझरेसम्म कुर्नु पर्ने बताएका छन् ।

जुलाई मध्यतिर प्रधानमन्त्री जोन्सनका विभिन्न विवादका कारण क्याबिनेट मन्त्रीहरुले विद्रोह गरेपछि नयां नेताका लागि प्रक्रिया शुरु भएको थियो । शुरुमा ११ जना उम्मेदवार मैदानमा उत्रिएपनि तिमध्येबाट अन्तिम दुईजना प्रधानमन्त्रीको अन्तिम दौडमा छन् ।