लन्डन- इंग्ल्याण्ड र स्कटल्याण्डमा अब कोभिडको बुस्टर डोज बांडिने भएको छ। सोमबारबाट लाखौँ मानिसलाई बुष्टर खोपको लागि आमन्त्रण गरिनेछ। उता वेल्समा भने केयर होम बासिन्दा र कर्मचारीहरुलाई यसअघि नै खोप दिन सुरु गरिएको छ ।
उत्तरी आयरल्याण्डमा पनि सोहि समूहका मानिसहरुलाई सेप्टेम्बर १९ बाट कोभिड बुष्टर खोप सुरु गरिनेछ । कोरोना संक्रमण घट्दै गएपनि जाडोयाममा फ्लू र कोभिड संक्रमण बढ्न सक्ने भन्दै गम्भीर रोगबाट सुरक्षित हुन बुष्टर खोप दिन लागिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
ओमिक्रोन भेरियन्टविरुद्ध भर्खरै स्वीकृत भएको मोडेर्नाको ‘बाइभ्यालेन्ट’ (दुई डोज लगाउनुपर्ने) बुष्टर खोप वितरण गरिने भनिएपनि उक्त खोप पर्याप्त नरहेकाले स्वास्थ्य अधिकारीहरुले निर्धारित गरेकै खोप लगाउन सुझाइएको छ।
यूके मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट नियामक निकाय (एचएमआरए) ले १२ वर्ष वा सो भन्दा माथिका मानिसका लागि फाईजर बायोएनटेकको दोस्रो ‘बाइभ्यालेन्ट’ खोप स्वीकृत गरेको शनिबार घोषणा गरेको छ ।
क-कसलाई छ खोप प्राथमिकता?
५० वर्ष वा सो भन्दा बढी उमेर भएका, स्वास्थ्य जोखिममा रहेका पाँच देखि ४९ वर्ष उमेर पुगेका जसमा गर्भवती महिला, केयरहोम कर्मचारी, अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्य तथा सामाजिक कार्यकर्तालगायत शारीरिक प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरुको घरेलु सम्पर्कमा रहेका मानिसहरुलाई प्रथामिकताका आधारमा बुष्टर खोप प्रदान गरिने सरकारले जनाएको छ ।
इंग्ल्यान्डका झन्डै १६ लाख केयरहोम बासिन्दा तथा कर्मचारीहरु टप-अप कोभिड बुष्टर लागाउने पहिलो व्यक्ति हुनेछन् । यसैगरी, सोमबारबाट उच्च जोखिममा रहेका, ७५ वर्षमाथिका साथै कमजोर प्रतिरक्षा प्रणाली भएका ४० लाख मानिसले खोपको लागि आवेदन दिन सक्नेछन् ।
बेलायतमा जुलाईदेखि नै कोभिड संक्रमण घट्दै गएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार हाल यहाँको जनसंख्याको १.७ प्रतिशत अर्थात ११ लाख मानिसमा कोभिड संक्रमण देखिएको छ।