छोरी भेट्न भरतपुर मेयर रेणु सपरिवार बेलायतमा

  • प्रकाशित मिति : २०७९ भाद्र २२, बुधबार
  • नेपाल टेल

लन्डन। चितवन भरतपुर महानगरकी मेयर रेणु दाहाल मंगलबार लन्डन आइपुगेकी छन्।

करिब दश दिन लामो व्यक्तिगत भ्रमणका लागि उनी बेलायत आएको उनीनिकट स्रोतले जनाएको छ।

मंगलबार साँझ श्रीमान अर्जुन पाठक र छोरासहित दाहाल लन्डन उत्रिएकी हुन्।

मेयर दाहालको यो भ्रमण पारिवारिक भेटघाटका लागि रहेको बुझिएको छ । अध्ययनका लागि हाल बेलायतमै रहेकी छोरी प्रतिभा पाठकलाई भेट्न दाहाल परिवार यहाँ आएको हो।

हाल अक्सफोर्ड ब्रुक युनिभर्सिटीमा अध्ययनरत प्रतिभा आफ्नो परिवारलाई स्वागत गर्न लन्डन हिथ्रो विमानस्थल पुगेकी थिइन्। सोही अवसरमा एनआरएनए यूके सचिव विष्णु चालिसेले पनि मेयर दाहाललाई स्वागत गरेका थिए।

लन्डन उत्रिएलगत्तै दाहाल परिवार छोरी प्रतिभा बस्दै आएको अक्सफोर्ड शहरतर्फ लागेको छ। पारिवारिक भ्रमणमा आएकाले दाहालको कुनै औपचारिक कार्यक्रम तय भएको छैन।

मेयर दाहाल पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचन्डपुत्री हुन्।