लन्डन । गत बिहीबार दिवंगत हुनुभएकी बेलायतकी महारानी एलिजावेथ द्वितीयाको आगामी सेप्टेम्बर १९ तारिख सोमबार राजकीय अन्तेष्टी गरिने भएको छ ।
स्कटल्याण्डको बाल्मोरल प्यालेसमा स्वर्गरोहण भएकी महारानीको अन्तिम संस्कार उक्त दिन लन्डनस्थित वेष्टमिन्स्टर एब्बेमा हुने बकिङहम प्यालेसले जनाएको छ।
रानीको शरीर हाल उत्तरपूर्वी स्कटल्याण्डको बालमोरल क्यासलको बलरूमम रोयल स्ट्यान्डर्ड फर स्कटल्याण्डले ढाकिएको ओक कफिनमा छ, जसमाथि फूल माला र पुष्पगुच्छा अपर्ण गरिएको छ । शाही अधिकारीहरूले यसलाई “शान्त मर्यादाको दृश्य“ भनेका छन् ।रानीको कफिनलाई आइतबार एडिनबर्गको होलीरुडहाउसको दरबारमा सडकबाट १८० माइल (२९० किलोमिटर) यात्रामा लगिनेछ ।
अन्त्येष्टि एक सातापछि हुने भएपनि महारानीको शवयात्रा भने यही आइतबारदेखि शुरु हुनेछ। आइतबार उनको शव अहिले रहेको बाल्मरोल प्यालेसबाट एडिनबरा ल्याइनेछ।
आउंदो मंगलबार शब लन्डन ल्याएर बकिङहम प्यालेस पुर्याइनेछ । बुधबार महारानीको शव दरबारबाट वेष्टमिन्स्टर हल लगिनेछ।बिहीबारदेखि चार दिनसम्म सोही स्थानमा शव राखिनेछ । जहाँ हजारौँ सर्वसाधारणसमेतले श्रद्धाञ्जली व्यक्त गर्ने अवसर पाउनेछन्।
महारानीको अन्त्येष्टिको दिन बेलायतमा सार्वजनिक बिदा दिने घोषणा गरिसकिएको छ।
रानीलाई विन्डसरको किंग जर्ज छैठौं मेमोरियल चेपलमा अन्त्येष्टि गरिनेछ । महारानीको राजकीय अन्तेष्टि समारोहमा बेलायती राजपरिवार, राजनीतिज्ञ तथा विश्वका नेताहरु सहभागी हुनुहुनेछ ।