दुबईमा कार धुने भरत विकले जिते ३५ करोड

  • प्रकाशित मिति : २०७९ आश्विन ५, बुधबार
  • nepaltale.com

दुबईमा कार धुने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विकले लक्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) जितेका छन् । दुवईको प्रतिष्ठित सञ्चारमाध्यम ‘खालिज टाइम्स’ का अनुसार मासिक एक हजार तीन सय दिराम कमाइ गर्दै आएका भरतले ‘महजुज ड्र’ नाम दिइएको सो लक्की ड्र जितेका हुन् ।

दुई सन्तानका पिता भरत तीन वर्षअघि दुवई आएका हुन् । ब्रेन ट्युमरबाट पीडित २५ वर्षीय कान्छो भाइको उपचारका लागि पैसाको अभाव भएपछि आफू कामका लागि दुवई आएको उनले बताए ।

उनका बुबा भारतमा ड्राइभरको काम गर्छन् । ‘मेरो भाइ भारतको नयाँ दिल्लीमा उपचार गराइरहेको छ,’ उनले भने, ‘एउटा शल्यक्रियाको क्रममा उसलाई पक्षाघात भयो र कान गुम्यो । यो पैसाले मलाई उसको राम्रो हेरचाह गर्न मद्दत गर्नेछ ।’

भरत आफ्ना पाँच वर्षीय छोरा र तीन वर्षीया छोरीको भविष्य सुरक्षित गर्न उक्त रकम प्रयोग गर्न चाहन्छन् । उनले परिवारको बसोबासका निम्ति पनि सो रकम खर्चने प्रतिक्रिया दिए ।

उनको दुबईमा बैंक खातासमेत छैन । महजुजका संचालक इविङ्सका सिइओ फरिद सामजीले बैंक खाता नभएकाले भरतलाई खाता खोल्न मद्यत गरिरहेको बताए । ‘हामी उसलाई बैंक खाता खोल्न मद्दत गर्ने प्रक्रियामा छौँ, ताकि हामीले पैसा स्थानान्तरण गर्न सकौँ,’ फरिदले भने ।