दुबईमा ३५ करोडको चिठ्ठा जितेका युवाले नेपाल पैसा ल्याए कति कर लाग्छ ?

  • प्रकाशित मिति : २०७९ आश्विन ६, बिहीबार
  • nepaltale.com

काठमाडौं । गुल्मीका युवा भरत विश्वकर्माले दुबईमा ३५ करोड रुपैयाँको चिठ्ठा जितेपछि नेपाल आउने तयारीमा छन् । यताका राजश्वका कर्मचारीहरु चाहीँ उनले जितेको रकममध्ये कति रकम कसरी ल्याउँछन् भन्ने कौतुहलतमा छन् ।

दुबईबाट प्रकाशित हुने खालिज टाइम्सका अनुसार भरतले जितेको रकम उनको हातमा परिसकेको छैन । उनको व्यक्तिगत खाता नभएकाले सो रकम हस्तान्तरण भइनसकेको समाचारमा जनाइएको छ । महजुज चिठ्ठा सञ्चालन गर्ने कम्पनी इविङ्सका सीइओ फरिद सम्जीले भरतको बैंक हस्तान्तरणका लागि आफूहरुले बैंक खाता खोलिदिन लागेको बताएका छन् । यो खाता दुबइको बैंक वा नेपालको बैंकमा खोल्ने खुलाइएको छैन ।

सुरक्षा जोखिमका कारण भरतका धेरै विवरणहरु गोप्य राखिएका छन् । उनी चाँडै नेपाल फर्किँदै छन्, तर सँधैका लागि होइन । समाचारमा जनाइएअनुसार ३५ करोडको मालिक भएपछि पनि फेरि दुबइ फर्केर काम गर्ने उनको योजना छ । खालिज टाइम्सलाई उनले भनेका छन्, ‘मलाई दुबइले धेरै कुरा दिएको छ । म नेपालमा गएर केही समय बिताएपछि फेरि आएर यहीँ काम गर्छु । चिठ्ठा पनि खेलिरहन्छु ।’

तीन वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका भरतले अढाई वर्षदेखि महजुज चिठ्ठा खेलिरहेका थिए । आवुधाविमा बस्ने आफ्नो भतिजले सुझाव दिएपछि आफूले चिठ्ठा किन्न थालेको उनले बताएका छन् । २७ सेप्टेम्बरमा नेपाल फर्किने उनको योजना थियो । नेपाल फर्किनअअघि अन्तिम पटक प्रयास गर्छु भनेर चिठ्ठा किनेको भरतको भनाइ छ । यही निर्णयले उनको भाग्य परिवर्तन गरिदियो । मासिक १३ सय दिराम आम्दानी गरिरहेका उनले एकैपटक १ करोड दिराम जिते र रातारात धनाढ्य बने ।

अब यो रकमबाट आफ्नो बिरामी भाइको उपचार गर्ने उनको योजना छ, जो ब्रेन ट्यूमर र प्यारालाइसीस भएर नयाँ दिल्लीमा उपचाररत छन् । यसैगरि, आफ्ना दुई छोराछोरीको भविष्यका लागि खर्च गर्ने छँदैछ । तर उनले सबै रकम नेपाल ल्याउँछन् वा थोरै यता ल्याएर बाँकी उतै राख्छन् भन्ने प्रश्न छ ।

उनले यति ठूलो रकम बैंकिङ च्यानलबाट नेपालमा पठाए भने त्यसको स्रोत खुलाउनुपर्छ । चिठ्ठाबाट जितेको रकम आकस्मिक लाभका रुपमा गणना हुन्छ । नेपालको कानूनले आकस्मिक लाभमा २५ प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ । विदेशमा रोजगारी गरेर नेपालमा पठाएको रेमिट्यान्समा भने कर लाग्दैन ।

स्रोत खुलाएर ३५ करोड रुपैयाँ एकैपटक नेपालमा पठाउन भरतलाई बाधा छैन । तर, उनले ल्याउने रकममा २५ प्रतिशत कर लाग्छ वा लाग्दैन भन्नेमा राजश्वकै कर्मचारीहरु अन्योमा छन् ।

राजश्वका कर्मचारीहरु उनले हुण्डीमार्फत नेपाल पैसा पठाउन सक्ने पनि आशंका गरिरहेका छन् । त्यो भनेको गैरकानूनी बाटो हुन्छ । उनले चिठ्ठा जितेको बारे धेरै प्रचार भइसकेकाले हुण्डीबाट पठाउनु उनकै लागि जोखिमपूर्ण हुन सक्छ ।