दशैंमा रेमिट्यान्स बढ्ने , पैसा पठाउँदा विभिन्न उपहार अफर

  • प्रकाशित मिति : २०७९ आश्विन १३, बिहीबार
  • नेपाल टेल

काठमाडौं। दशैंको मुखमा वैदेशिक रोजगारीमा रहेका नेपाली युवालाई हरेक साल घरमा पैसा पठाउन दबाव पर्छ । परिवारलाई दशैं खर्च पठाउने क्रमले रेमिट्यान्सको आप्रवाह पनि यही बेलामा बढ्छ । विगतका २ वर्ष महामारीका कारण धरै नेपाली युवा विदेश जान पाएका थिएनन् । गत वर्षबाट भने फेरि धेरै नेपालीहरु कामका लागि विदेशिने क्रम बढेको छ ।

जे जति नेपाली युवा विदेशमा छन्, दशैंका बेला नेपालमा परिवारको खुसीको लागि ऋण नै गरेर भए पनिदशैं खर्च पठाउने दबावमा हुन्छन् । अधिकांश नेपाली श्रमिकले खुसी–खुसी यो दायित्व पूरा गर्छन् पनि ।

राष्ट्र बैंकका अनुसार सामान्यभन्दा चाडवाडका महिनामा बढी रेमिट्यान्स भित्रिने गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब रेमिट्यान्स नेपाल भित्रियो । गत वर्ष २०७८ को असोजमा करिब ७३ अर्ब र कात्तिकमा ८३ अर्ब रमिट्यान्स भित्रिएको थियो ।

चाडवाडको मुख्य सिजन असोज, कात्तिक र मंसिरमा करिब २५ प्रतिशतसम्मले रेमिट्यान्स बढ्छ । गत वर्ष यी तीन महिनामा २३३.२१ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

नेपालमा सबभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलका अनुसार विगतमा जस्तै यो वर्ष पनि दशैंको मुखमा रेमिट्यान्स बढेको छ । तर, वृद्धिदर भने खासै उत्साहजनक छैन । ‘डलरको मूल्य बढेकाले पनि रेमिट्यान्समा वृद्धि हुन सघाएको छ’ उनले भने । उनका अनुसार घटस्थापनापछि रेमिट्यान्स आउने क्रम उच्च बिन्दुमा पुग्छ ।

यो आर्थिक वर्षको सुरुकै महिनामा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशत बढेको थियो । साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स आएको थियो ।

चाडबाडको समयमा रेमिट्यान्स बढ्ने भएकाले रेमिट कम्पनीहरुले पनि अफरहरु ल्याउने गर्छन् । दशैंमा आईएमई, सिटी एक्सप्रेस मनी ट्रान्सफर, प्रभु मनी ट्रान्सफरलगायतले अफरहरु ल्याएका छन् । पैसा पठाउँदा विभिन्न उपहार अफर गरिएका छन् ।