लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको लन्डनको रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट उपमेयर (डेपुटी मेयर) निर्वाचित भएका छन्।
एक वर्षअघि सो बरोमा नेपाली समुदायबाट पहिलो काउन्सिलर निर्वाचित उनले आगामी एक वर्षलाई उपमेयरको जिम्मेवारी प्राप्त गरेका हुन्।
बुधबार बेलुका वुल्लीच टाउन हलमा आयोजित एक विशेष समारोहमा रानाभाटले उपमेयरको शपथ लिंदै औपचारिक पदभार ग्रहण गरे ।
गत वर्ष लन्डनको रोयल बरोमा नेपाली मूलबाट पहिलोपटक काउन्सिलर निर्वाचित हुन सफल रानाभाटले अहिले फेरि पहिलो उपमेयरको रुपमा जिम्मेवारी ग्रहण गरेकोमा स्थानीय नेपाली समुदायले गौरव र उत्साह महशुश गरेको छ ।
यसअघि रोयल बरो अफ ग्रीनवीचमा लेबर पार्टीका काउन्सिलरहरुबीच भएको प्रतिस्पर्धामा अन्यलाई पछि पार्दै रानाभाट उपमेयर निर्वाचित बनेका हुन् ।
उपमेयरमा निर्वाचित रानाभाटले बरोमा प्रमुख रहने मेयरको डेपुटीका रुपमा आफ्नो भूमिका निर्वाह गर्नेछन्।
बेलायतका विभिन्न बरोहरुमा यसअघि नेपाली मूलका मेयर, उपमेयर थुप्रै काउन्सिलर निर्वाचित भइसकेपनि लन्डनको कुनै रोयल बरोमा काउन्सिलर वा उपमेयर हुने भने रानाभाट पहिलो हुन्।