अर्थमन्त्रीलाई रवि लामिछानेको प्रश्न– विकास बजेट डडेल्धुरा, नुवाकोट र गोरखामा कति पार्नुभएको छ ?

  • प्रकाशित मिति : २०८० जेष्ठ २५, बिहीबार
  • nepaltale.com

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले अर्थमन्त्री प्रकाशशरण महतलाई यस पटकको विकास बजेट डडेल्धुरा, नुवाकोटमा र गोरखामा कति पार्नुभएको छ भनेर प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभामा चलिरहेको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

‘एउटा आशंका उब्जिएको छ । अर्थमन्त्री ज्यू स्पष्ट पारिदिनुहोला,’ उनले भने, ‘यस पटकको विकास बजेट डडेल्धुरा, नुवाकोटमा र गोरखामा कति पार्नुभएको छ ? एउटा गम्भीर प्रश्न खडा भएको छ । सुनिएअनुसार र केही डाटाहरू सार्वजनिक भए अगाडि र तथ्य जाँच गर्नु अगाडिको आशंकाको प्रश्न हो मेरो ।’
उनले यसको उत्तर अर्थमन्त्रीकै मुखबाट सुन्न चाहेको पनि जिकिर गरे ।

‘लगभग ४० देखि ५० प्रतिशत बढी बजेट डडेल्धुरा, नुवाकोट र गोरखाका लागि छुट्याइएको जानकारी आएको छ,’ उनले भने, ‘हामी अरूबाट सुन्न चाहँदैनौँ । सञ्चारमाध्यमका हेडलाईनको हामी तथ्य जाँच गर्दैगरौँला तर म मान्य अर्थमन्त्रीज्यूबाट यसको जवाफ चाहान्छु । बताइदिनुहोला ।’

लामिछानेले बजेटमा मधेशलाई गरिएको विभेदका बारेमा पनि बताइदिन आग्रह गरे ।