प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद सुनिता बरालले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेविरुद्धको मुद्दा फिर्ता लिएर सरकारले के गर्न खोजेको हो भन्दै प्रश्न गरेकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बरालले सरकारसँग जनता त्रसित भएर बाच्नु परिरहेको बताइन् ।
‘२०७७ असोज २० त्रिवि परिसरमा उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी नेपाल विद्यार्थी संघका विद्यार्थीहरूले कुटेर फालेका थिए’, उनले भनिन्, ‘केही व्यक्तिले भेटेर उनको उद्धार गरे । मुद्दा चलिरहेको छ, तर यो सरकार पटकपटक मुद्दा फिर्ता लिने निर्णय गर्छ । अब हामीले यो देशमा सुशासन माग्न कहाँ जाने हो ?’
उनले अगाडि भनिन्, ‘मरणासन्न हुने गरी फालिएको व्यक्तिबाट गरेको उजुरी सरकारले फिर्ता लिन्छ भने के अब सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो ?’