राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनमा मोर्चालाई तोडेर नयाँ रेकर्ड राखेको बताएका छन् । डा. स्वर्णिम वाग्लेलाई हराउन सिंगो प्रमुख राजनीतिक दलहरु लागे पनि उनीहरुको मिसन सफल नभएको बताए ।
पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले अन्य दलको कलममा आफूले कुनै प्रतिक्रिया नदिने बताए । ‘ उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेका हौं। त्यसैले उहाँहरुको कदममा मैले कुनै प्रतिक्रिया दिनु हुँदैन,’ उनले भने, ‘ अरु राजनीतिक दलको कदम हो त्यो। हामीले नदेखेको दल हुनुहुन्न। हामीले देखेकै दल हुनुहुन्छ। उहाँहरुले मोर्चा गर्नुभएको छ। हामीले मोर्चा नै गर्ने भए जनताको मुद्दामा मोर्चाबन्दी गरौं न भनेका थियौं। संसदमा पनि भनेका थियौं।’
डा. वाग्लेले चुनाव उठेको तनहुँ–२ आफ्नो लागि नयाँ नभएकोसमेत उनको दाबी थियो । ‘हाम्रो लागि त्यो नयाँ होइन दलहरुको लागि चाहिँ घोषित अघोषित नयाँ होला।’ उनले अन्य दलप्रति व्य्रग्य गरे ।
जनतालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य गर्न हामी पनि आउँछौं त्यस्ता मोर्चामा आउने भने उनले बताए । ‘पुरानो मिल्दा नयाँलाई त्यस्तो असर नगर्ला,’ उनले भने, ‘हाम्रो पार्टीको ध्यान संगठनलाई मजबुद बनाएर जनतामा कसरी पुग्ने भन्ने हुन्छ।’