पोखरा सभागृह हल परिसरमा बिहीबार दिउँसो चिनियाँ नागरिकको निकै चहलपहल थियो । उनीहरूसँगै नेपालीहरू पनि रमाइरहेका भेटिन्थे । त्यो हुलमा चीनको लिन्जी र सिचुवान नगरका प्रमुख र उपप्रमुख लगायत चिनियाँ पाहुनाहरू थिए । नेपालबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, जनप्रतिनिधि लगायत अन्य पोखरेलीको राम्रै उपस्थिति थियो ।
चिनियाँ पाहुनाहरू नेपालीलाई देख्ने बित्तिकै आफ्नै भाषामा स्वागत गर्दै भन्थे, ‘निहाओ !’ केहीले झुकेर ‘नमस्ते’ टक्राउँथे । नेपालीहरू पनि चिनियाँ पाहुनालाई ‘नमस्कार’ भन्दै स्वागत गर्थे । यो सन्दर्भ थियो, चिन र नेपालको सांस्कृति गरिने सांगितिक कार्यक्रम । बिहीबार पोखरा महानगरपालिकाले भगिनी सम्बन्ध विस्तार गरेको चिनको लिन्जी सहरको संस्कृति आदान प्रदान गर्ने उद्देश्यले सांगितिक कार्यक्रम आयोजना गरिएको थियो ।