तीन वर्षपहिले छोरासँग अलग भइसकेकी बुहारी फकाउन सासुको धर्ना, त्यसपछि के भयो ?

  • प्रकाशित मिति : २०७७ बैशाख २९, सोमबार
  • nepaltale.com

एजेन्सी । कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रान्त भइरहेको छ । यसबेलामा भाइरसले थुप्रै घर उजाड पारेको पनि हुनसक्छ, तर भारतको भोपालमा भने उल्टो भएको छ । लकडाउनका कारण एउटा टुटिसकेको सम्बन्ध पुनः जोडिएको छ, भत्किएको घर पुनः ठडिएको छ ।

दैनिक भास्करले प्रकाशित गरेको समाचारमा ३ वर्षअघि सम्बन्धविच्छेद भइसकेका श्रीमान–श्रीमतीबीच पुरानो सम्बन्ध जोडिएको छ । टुटेको सम्बन्ध जोडिनका लागि पहल चाहिँ सासुले गरेकी छिन् ।

सासुले बुहारीलाई कोरोनाका कारण केही हुनुअघि नै छोरालाई सम्हाल्न आग्रह गरेकी छिन् । बुहारी अनि उनका आमा–बुवालाई फकाउनका लागि सासुले उनको घरमा धर्नासमेत दिएकी थिइन् । बुहारीले पनि आफ्नो मनलाई थाम्न सकिनन् र आफ्नो सम्बन्धलाई पुनः अघि बढाएकी छिन् । यो दम्पत्तिबाट ७ वर्षकी १ छोरी छिन् । यो निर्णयले सबैभन्दा धेरै खुसी छोरी नै भएको बताइएको छ ।

समाचार स्रोतका अनुसार यी दुईको विवाह सन् २०१२ जनवरीमा भएको थियो । एक वर्षपछि उनीहरुको छोरीको जन्म भयो । व्यवसायमा व्यस्त भएकाले व्यापारीले श्रीमतीलाई समय दिन सकेका थिएनन् । त्यसैमा यो जोडीमाथि आमाको पनि दखलअन्दाजी थियो । यसैकारण उनीहरुबीच सधैजसो विवाद हुन्थ्यो ।

घरमा झगडा भएपछि महिला माइत जाने गर्थिन् । यस्तै चलिरहँदा उनीहरुबीचको सम्बन्ध निकै कमजोर बन्दै गयो । सँगै बस्नै नसक्ने स्थिति आएपछि अदालतले यी दुईलाई सँगै बस्नका लागि तीनपटक काउन्सिलिङ पनि गर्यो । तर उनीहरु सहमत भएनन् । अन्ततः सन् २०१७ फेब्रुअरीमा उनीहरुको सम्बन्ध विच्छेद भएको थियो । त्यतिबेला छोरी ४ वर्षकी थिइन् । बुवालाई छोरी भेट्न अनुमति पनि दिइएको थिएन ।

दैनिक भास्करका अनुसार लकडाउन भएपछि उनका छोरा घरमा बस्न थाले । उनी सधैं कोठामा एक्लै झोंक्राएर बस्थे । पुरानो यादमा हराउँथे । खान मात्रै कोठाबाट बाहिर निस्कन्थे । अरु समयमा विवाह र छोरीको जन्मपछिको फोटो एल्बम अनि भिडियो हेरेर बस्थे । आमाले छोराको यस्तो दुर्दशा हेर्न सकिनन् । छोरालाई डिप्रेशनमा देखेर आमाले त्यही काउन्सिलरको नम्बर खोजिन् जसले सम्बन्धविच्छेदका बेला काउन्सिलिङ गरेकी थिइन् ।

काउन्सलरले पनि छोराकी पूर्व श्रीमतीले विवाह नगरेको भए दुईको सम्बन्ध पुनः जोडिन सक्ने बताइन् । त्यसपछि उनी सम्धी, बुहारी र नातिनीलाई फकाउन उनको घर पुगिन् । उनीसँग हरेक कुराका लागि माफी मागिन् । घरबाहिर धर्नासमेत बसिन् । सासुले बुहारीलाई भनिन्, ‘तिमीले पनि त दोस्रोपटक विवाह गरिनौं । सायद तिमीले पनि मेरो छोरालाई अहिलेसम्म पनि मन पराइरहेकी छौ ।’ त्यसपछि बुहारी रोइन् । ६ दिनको प्रयासपछि अन्त्यमा बुहारीको परिवारले मान्यो र आइतबार यी दुईको विवाह भयो ।