सचिव बढुवा सिफारिसमा लक्ष्मीकुमारी बस्नेत, दिनेशकुमार घिमिरे र घनश्याम उपाध्याय

  • प्रकाशित मिति : २०८० असार १९, मंगलवार
  • nepaltale.com

बैकुण्ठ अर्याल मुख्य सचिवमा बढुवा भएर रिक्त भएको सचिव पदमा बढुवा समितिले सहसचिव लक्ष्मीकुमारी बस्नेतसहित तीनजनालाई सचिव पदमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष अध्यक्ष रहने सचिव बढुवा समितिको हिजो बसेको बैठकले दोस्रो नम्बरमा प्रशासनकै दिनेशकुमार घिमिरे र तेस्रो नम्बरमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सिफारिस गरेको आयोग स्रोतले जानकारी दियो ।

बढुवा समितिले एक सचिव पद रिक्त हुँदा तीनजनाको सिफारिस गर्ने प्रावधान छ । तीनमध्ये एकजनालाई मन्त्रिपरिषद् बैठकले निर्णय गरी नियुक्त गर्छ । मन्त्रिपरिषद् बैठक आजै बस्दैछ ।

पाँच सदस्यीय बढ्वा समितिमा लोकसेवा आयोगका सदस्य, मुख्य सचिव, सामान्य प्रशासनका सचिव सदस्य सचिव र एकजना विशेषज्ञ रहन्छन् ।
अवकाश पाउनै लागेको घडीमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई मुख्य सचिवमा बढुवा गरेको थियो । त्यतिखेरका मुख्य सचिव शंकरदास बैरागीलाई भने हुँदै नभएको पद सिर्जना गरी सुरक्षा परिषद्मा सल्लाहकारमा नियुक्त गरेको थियो ।

भोलि असार २० गते नेपाल सकारका अर्का एक सचिव पनि सेवा निवृत्त हुँदैछन् ।