नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई देशको अर्थतन्त्र सुधारका लागि आवश्यक पर्ने सहयोग गर्न आग्रह गरेका छन् ।
आइएमएफका आवासीय प्रतिनिधिबीच आज भएको भेटवार्तामा उनले विद्यमान अर्थतन्त्रको सुधारमा सघाउन आग्रह गरेका हुन् । अध्यक्ष ढकालसँग नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासंघ सचिवालयमा औपचारिक भेटवार्ता गरेका हुन् ।
सो अवसरमा अध्यक्ष ढकालले दुई संस्था मिलेर विद्यमान आर्थिक मन्दीको अवस्थालाई सुधार्नुपर्नेमा जोड दिएको थियो । उनले बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनःसंरचना, पुनःतालिकीकरण, पुनःकर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसँग आग्रह गरिरहेको बताए ।
सो अवसरमा आवासीय प्रतिनिधि सान्चेजले महासङ्घका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्त्वका साथ लिएको बताए । साथै उनले सो विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने विश्वास दिलाए ।