अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले थप २ वटा छनोट प्रतियोगिता स्थगित गरेको छ । कोरोना भाइरसका कारण आइसीसीले महिला क्रिकेट विश्वकप छनोट र आइसीसी यू–१९ क्रिकेट विश्वकप छनोट युरोप डिभिजन-२ स्थगित गरेको हो ।
आइसीसी क्रिकेट विश्वकप २०२१ का लागि हुने छनोट यही जुलाई ३ देखि ९ सम्म श्रीलंकामा हुने तालिका थियो ।
१० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताबाट ३ टिम छनोट हुने व्यवस्था छ । विश्वकपमा स्थान बनाउन बंगलादेश, पाकिस्तान, आयरल्यान्ड, वेस्ट इन्डिज र श्रीलंकाले खेल्ने तय थियो।
यस्तै, थाइल्यान्ड, जिम्बाबे, पपुवा न्यूगिनी, अमेरिका र नेदरल्यान्ड्सले पनि छनोट खेल्दै थिए।
यस्तै, डेनमार्कमा २४ देखि ३० जुलाईसम्म हुने तय यू-१९ विश्वकप क्षेत्रीय छनोट पनि स्थगित भएको छ। यसअघि आइसीसीले अधिकांश छनोट प्रतियोगितासहित सिरिज स्थगित गरेको थियो । जसमा नेपालका ४ वटा सिरिज प्रभावित भइसकेका छन् ।