सदनको अवरोध हटाउन राष्ट्रपति पौडेलले ओलीलाई के दिए सुझाव ?

  • प्रकाशित मिति : २०८० श्रावण ३१, बुधबार
  • nepaltale.com

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति पौडेलले संसदको अवरोध हटाउने विषयमा चासो राखेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

लामो समयसम्म संसद नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण जनाएका थिए । दलहरुबीच आपसी सहमति गरेर अघि बढ्न राष्ट्रपतिको सुझाव छ ।

यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालाई पनि बोलाएर सदनको अवरोध हटाउनेबारे चासो राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल एमालेले सुन प्रकरणलाई लिएर उच्चस्तरीय छानबिन समितिको माग राख्दै संसद अवरोध गर्दै आइरहेको छ । तर, सरकार समिति गठनको पक्षमा छैन । त्यसो त आजै बिहान बसेको सत्ता गठबन्धनको बैठकले सदनको अवरोध हटाउन एमालेसहित विपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।