लिपुलेकलाई त्रिदेशीय विन्दु हो भन्नेलाई भरत दाहालले किन भने भाडाका अपराधी ?

  • प्रकाशित मिति : २०७७ जेष्ठ १, बिहीबार
  • nepaltale.com

वामपन्थी बुद्धिजीवी तथा राजनीतिक विश्लेषक भरत दाहालले लिपुलेकलाई त्रिदेशीय विन्दु हो भन्नेहरुलाई भाडाका अपराधी घोषित गर्नुपर्ने बताउनु भएको छ । आफ्नो फेसबुक वालमा लिपुलेक, कालापानी र लिम्पियाधुरा भएका नक्शा पोष्ट गर्दै दाहालले लिपुलेक कुनै पनि हालतमा त्रिदेशीय विन्दु नभएको दावी गर्नुभएको छ ।

भरत दाहालको भनाई जस्ताको तस्तै
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र भएका यी दुबै नक्शाहरु राम्ररी हेरौं । नक्शा ननिकाल्ने र लिपुलेक त्रिदेशीय बिन्दु हो भन्नेलाई भाडाका अपराधी घोषित गरौं ।

दाहिनेतिरको नक्शामा लिम्पियाधुरा, कालापानी र दार्चुला जिल्ला छन् । यी सबै दार्चुला जिल्लाका भाग हुन् । लिपुलेक भन्ने ठाउँ लिम्पियाधुरा र कालापानीलाई जोड्ने बिन्दुका रुपमा रहेको छ । यो भूभाग चीनसँग मात्र जोडिएको छ । यो सिंगो भूगोलमा इण्डियाको भूमि कतै पनि पर्दैन । नक्शा हेर्दा मात्र पनि लिपुलेकलाई त्रिदेशीय बिन्दु भन्ने भाडाका अपराधीहरुले के चाहिरहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ ।

देब्रेतिरको नक्शामा लिम्पियाधुरा र कालापानीको बीचबाट इण्डियनहरुले बनाएको बाटोलाई हरियो रङमा देखाइएको छ । त्यसैमा इण्डियनहरुले बनाएको नक्कली काली नदी पर्छ । यही नक्कली काली नदीलाई आधार बनाएर इण्डियाले महाकाली सन्धिपछि लिम्पियाधुरालाई औपचारिकरुपमै आफ्नो भूभाग भन्दै आएको छ । नक्शाको बायाँ छेउँबाट भएर लिम्पियाधुराबाट काली नदी बगेको छ । इण्डियासँगको सिमाना यही हो ।

नक्शा यति स्पष्ट हुँदाहुँदै देशको वास्तविक नक्शा जारी गर्न नमान्ने र यो विदेशी आक्रमणलाई कुटनीतिका नाममा लम्ब्याइरहने षडयन्त्र सामान्य खालको छैन भन्ने यथार्थता नेपालीहरुले बुझ्न एकदमैं जरुरी छ । इण्डियनहरुले यी अपराधीहरुलाई के भनेर धम्काइरहेका छन् भन्ने प्रश्न निकै गम्भीर छ र यही प्रश्नको जवाफ नै इण्डियन साम्राज्यवादको मनपरीको कारण हो । यिनीहरुलाई विदेशीले खटाएका भाडाका अपराधी घोषित गर्नु पर्दछ ।’