गल्ती भयो, माफी चाहन्छु : गगन थापा

  • प्रकाशित मिति : २०८० पुष ४, बुधबार
  • नेपाल टेल संवाददाता

पाल्पाको तानसेन नगरपालिकाको बोर्ड ढाकेर पार्टीको जिल्ला सम्मेलनको ब्यानर राखिएकाप्रति नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माफी मागेका छन् । बुधबार सामाजिक सञ्जालबाट महामन्त्री थापाले माफी मागेका हुन् ।

‘सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरू भएको थियो तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्‍यो भनेर माग गरेपछि मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो’ महामन्त्री थापाले लेखेका छन् ‘त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरबाही हो । यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो । त्यसप्रति म माफी चाहन्छु । पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं ।’