खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

  • प्रकाशित मिति : २०८० पुष १७, मंगलवार
  • nepaltale.com

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदको माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वासका साथै अन्तरनिहित प्रतिभाको विकास गर्न सक्ने भएकाले यस क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताए ।

खेलकुदले युवालाई शारीरिक रुपमा स्वस्थ बनाउने र सामाजिक परिबेशमा भिज्‍न योगदान पुर्‍याउने उनले बताए । उनले शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको पनि धारणा राखे । शिक्षण सिकाईका रुपमा खेलकुदलाई सबै विद्यालयमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित प्रतियोगितामा भलिबल खेलमा ८ सय जना, कबड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना गरी जम्मा ३ हजार २५० छात्रछात्रा खेलाडीले भाग लिनेछन् । तीन दिनसम्म चल्ने प्रतियोगीतामा ८३ विद्यालयको सहभागीता रहेको छ ।