ठमेलको क्लबबाहिर सानुभाइले युवा कुटे

  • प्रकाशित मिति : २०८० माघ ९, मंगलवार
  • नेपाल टेल संवाददाता

युवराज गुरुङ उर्फ सानुभाइ फेरि गुण्डागर्दी शैलीमा उत्रन थालेका छन् । नुवाकोट ककनी- ५ का सानुभाइ भनिने युवराज गुरुङसहितको समूह सक्रिय टोलीले ठमेलमा एक युवालाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

प्रहरीको इन्काउन्टरमा मारिएका नाइके कुमार श्रेष्ठ उर्फ ‘घैँटे’ का प्रमुख सहयोगी रहेका गुरुङ पछिल्लो समय गुण्डागर्दीमा सक्रिय हुन थालेका हुन् । गुरुङसहितको समूहले शनिबार ठमेलको छायाँ सेन्टरको प्लेब्वाई क्लबको पार्किङमा एक युवालाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।



सानुभाइ, शेरलाल पौडेल र नुवाकोटकै कमल तामाङले एक युवालाई मरणासन्न हुने गरी कुटपिट गरेको देखिन्छ । उनीहरूविरुद्ध पीडित युवाले ज्यान मार्ने उद्योग मुद्दामा प्रहरी वृत्त दरबारमार्गमा उजुरीसमेत दिएका छन् ।

दरबार मार्गका प्रहरी वृत्तका अनुसार बागलुङका एक युवालाई उनीहरूले कुटपिट गरेकाले ती युवाले उजुरी दिएका छन् ।

यसअघि गुरुङ समूहले २२ असारमा ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकमाथि क्लबमै कुटपिट गरेको थियो । प्रहरीले घटनामा संलग्न युवराज गुरुङसहित आठ जनालाई पक्राउ गरेको थियो ।

त्यतिबेला प्रहरीले नुवाकोट ५ ककनीका निरज गुरुङ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का कमल तामाङ, काठमाडौं टोखा नगरपालिका–१० का विक्रम अधिकारी, तनहुँ व्यास नगरपालिका– २ का ३२ वर्षीय सुवास कायस्थ, त्यहीका ३२ वर्षीय सुरज कायस्थ र शेरलाल पौडेल, रघु तामाङ तथा विनोद तामाङलाई पक्राउ गरेको थियो । उनीहरू गत साउन १० मा धरौटीमा छुटेका थिए ।

उनलाई ठमेलमा प्रहरीले सामाजिक रुपमा बेइज्जत गर्ने उद्देश्यले हतकडी लगाएर ठमेल वरिपरि हिँडाएका थिए ।