मन्त्रीहरूको वरीयतामा रघुवीर पहिलो, नारायणकाजी दोस्रो

  • प्रकाशित मिति : २०८० फाल्गुन २३, बुधबार
  • nepaltale.com

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा समावेशमा भएका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन् । योसँगै मन्त्रीमण्डल २० सदस्यीय बनेको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेका छन् ।

सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनी वरियतामा सबैभन्दा अघि छन् । त्यस्तै उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठ दोस्रो वरियतामा रहेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तेस्रो वरीयता दिइएको छ ।

एमालेबाट पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको छ ।

यस्तै माओवादीबाट वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् ।

यता रास्वपाबाट डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने गरी कार्यविभाजन भएको छ । नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बनेका छन् ।