पक्राउ परेकी नेतृ रक्षा बम अनेरास्ववियुबाट निलम्बित

  • प्रकाशित मिति : २०८० चैत्र १५, बिहीबार
  • nepaltale.com

आपराधिक लाभ लिएको आरोपमा पक्राउ परेपछि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम (राजमती) निलम्बित भएकी छन्।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले बिहीबार विज्ञप्ति जारी गर्दै धनगढी निवासी बमलाई संगठनबाट निलम्बनमा गरिएको जानकारी दिए।

‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले निष्पक्ष प्रहरी अनुसन्धानमा सहयोग रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्रक्रिया अवधिभर रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छौँ।’

बमलाई महाराजगञ्ज प्रहरीले बुधबार नागार्जुनस्थित ओशो तपोवन क्षेत्रबाट पक्राउ गरेको थियो।

उनविरुद्ध एमालेकै कार्यकर्ता समेत रहेकी बझाङकी रश्मिला कुमारी धामीले उजुरी दिएकी थिइन्।

उनले आफ्नो मोबाइल खोसेर रक्षाले आफूसँग लाखौँ रुपैयाँ बार्गेनिङ गरेको र धम्कीसमेत दिएको बताएकी थिइन्। तर रक्षाविरुद्ध उजुरी दिने उनै रश्मिला पनि पनि प्रहरीको फरार सूचीमा छिन्।

काठमाडौं प्रहरी परिसरले बमविरुद्ध आपराधिक लाभ लिएको र चोरीको कसुरमा उजुरी परेपछि पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ।