राप्रपा संस्थापन इतर पक्षको बैठक जारी, ७ पदाधिकारीसहित ७० जना सहभागी

  • प्रकाशित मिति : २०८२ श्रावण १९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा अध्यक्ष राजेन्द्र लिङदेनसँग असन्तुष्ट समूहको बैठक अहिले जारी रहेको छ । महामन्त्री डा. धवलशम्शेर राणाको संयोजनमा बसेको बैठकमा ७ पदाधिकारीसहित ७० जना सहभागी छन् ।

अध्यक्ष लिङदेनले संस्थापनइतर पक्षका नेताहरुलाई छानिछानि कारवाही गर्न थालेपछि असन्तुष्टि चुलिएको थियो । राणा नेतृत्वको असन्तुष्ट समूहले निर्वाचन आयोगमा उजुरी दिनेदेखि सामूहिक विज्ञप्ति निकालेर प्रतिवाद गर्दै आएको छ । हिजो मात्रै राणाले पार्टी अध्यक्षलाई एउटा पत्र समेत पठाएका छन् ।



आज हात्तिसारस्थित नेपाल हाउसमा चलिरहेको बैठकमा संस्थापन इतर पक्षले आफ्नो भावि रणनीति तय गर्ने छ ।

बैठकमा अध्यक्ष लिङदेनले उपाध्यक्ष र केन्द्रीय सदस्यबाट हटाएका मुकुन्दश्याम गिरीसमेत बैठकमा सहभागी छन् । उपाध्यक्ष विक्रम थापा तथा दुई महामन्त्री डा. राणा र कुन्ती कुमारी शाहीको बैठकमा उपस्थिति छ ।

यस्तै, दुई प्रदेश अध्यक्ष बाग्मती प्रदेश अध्यक्ष विक्रमबहादुर थापा र कर्णाली प्रदेश अध्यक्ष दीपबहादुर शाहीको सहभागीता रहेको स्रोतले जानकारी दियो ।

बैठकमा सहभागी अन्य नेताहरुमा प्रवक्ताबाट हटाइएका सगुनसुन्दर लावती, सहमहामन्त्री रवीन्द्रप्रताप शाह, सहायक प्रवक्ता, प्रविन कुमार थोकर तामाङ, सहायक महामन्त्रीत्रय प्रेम बलायर, ऋषिराज देवकोटा र सौरेन्द्रबहादुर शाह रहेका छन् ।

संस्थापन इतर पक्षसँग निकट पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी भने आजको बैठकमा आएनन् ।