दुर्व्यवहारपछि उपचाररत देउवा दम्पती आज डिस्चार्ज हुँदै

  • प्रकाशित मिति : २०८२ आश्विन ८, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा शारीरिक दुर्व्यवहारपछि उपचाररत उनीहरूको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार डिस्चार्जपछि उनीहरू ललितपुरमा अस्थायी बसोबास गर्नेछन्। सानेपा वा जावलाखेलमध्ये उपयुक्त स्थान रोजिने उनले जानकारी दिए।



बूढानीलकण्ठस्थित क्षतिग्रस्त घर पुनःनिर्माणमा समय लाग्ने भएकाले तयार नहुञ्जेल देउवा दम्पतीले वैकल्पिक बसोबास गर्ने तयारी गरेका छन्। आवास व्यवस्थापनका लागि राष्ट्रियसभा सदस्य जितजंग बस्नेत सक्रिय रहेका छन्।

प्रदर्शनकारीले गरेको आक्रमणका क्रममा देउवाको गर्धनमा धारिलो हतियारले प्रहार हुँदा आठ वटा टाका लगाउनुपरेको थियो। डा. राणाको पनि गर्धनमा चोट लागे पनि अब दुवैको स्वास्थ्य सामान्य भइसकेको र टाँका समेत खोलिएको अस्पताल स्रोतले जनाएको छ।