राष्ट्रपति र सरकारसँग वार्ता गर्न जेनजीले छाने सुदन गुरुङसहितका प्रतिनिधि

  • प्रकाशित मिति : २०८२ आश्विन ८, बुधबार
  • नेपाल टेल संवाददाता

जेनजीहरूले राष्ट्रपति रामचन्द्र पौडैल र सरकारका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।

आज बुधबार जेनजीहरूको बैठकले सुदन गुरुङ, पुरुषाेत्तम यादव, प्रवेश दाहाल, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउदसहितले जेनजीका माग सुनुवाइ गर्ने विषयमा राष्ट्रपति र सरकारसँग छलफल गर्ने निकुञ्ज भण्डारीले जानकारी दिए।



सुदन गुरुङले पनि समिति बनेको र छलफल कहिले गर्ने भन्ने मिति तय नभएको जानकारी दिए। ‘राष्ट्रपति र सरकारसँग छलफल गर्ने भनेर आज छरिएका जेनजीका प्रतिनिधिहरू एक ठाउँमा बसेर कुरा गरियो,’ उनले भने, ‘हामी सबैले मिलेर सल्लाह गरेरै प्रतिनिधि छनोट गरेका छौँ। अब मुद्दा पनि साझा बनाएर हामी कुरा गर्छौँ।’

राष्ट्रपति र सरकारसँगको छलफलमा जेनजी सहिदका परिवारका केही सदस्य र घाइते प्रतिनिधि र तीनका प्रतिनिधि पनि सहभागी हुने गुरुङले जानकारी दिए।

भदौ २३ र २४ गते जेनजीको आन्दोलन भएको थियो। उक्त आन्दोलनपछि केपी ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको छ।

यो सरकार ११ सदस्यीय मन्त्रिपरिषद् सदस्य बनाउने तयारी छ। अहिलेसम्म ८ सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ।