नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक दलका नेताकार्यकर्तामाथि भ्रष्टाचार छानबिनको नाममा प्रतिबन्ध लगाउने र जेल हाल्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले भनेका छन्, “जेनजी आन्दोलनपछि गैरदलीय सरकार बने पनि हाम्रा उपलब्धिहरुमाथिको संकट टरेको छैन। विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेताकार्यकर्तालाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, दलहरुलाई प्रतिबन्ध लगाउने, र आफू अनुकूलको निर्वाचनमार्फत कठपुतली पात्रमार्फत स्वार्थ सिद्ध गर्ने प्रतिगामी चलखेल अझै बाँकी छन्।”
दाहालले भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको समीक्षा गर्दै फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गर्न सबै पक्ष गम्भीरतापूर्वक लाग्नुपर्ने बताए।
पार्टी एकताको प्रसंग उठाउँदै उनले विचार मिल्ने शक्तिसँग ध्रुवीकरण र सहकार्य गरेर राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको रक्षाका लागि नयाँ ऐतिहासिक पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
प्रचण्डले नेपालको राजनीतिक इतिहासकै कठिन परिस्थितिमा रहेको भन्दै भने, “हामी क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा छौं। ठोस परिस्थितिको ठोस विश्लेषणमार्फत नयाँ कार्यभार पूरा गर्ने अवसर र चुनौती दुवै हाम्रासामु छन्।”