काठमाडौं। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन्। सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् १९ वटा निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले राज्यकोषको लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक र सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी पूर्वसचिव रामुप्रसाद डोटेलको संयोजकत्वमा गठित सुझाव कार्यदलको कार्यावधि ४५ दिन थप्ने निर्णय गरेको छ।
त्यस्तै, नेपाली सेनातर्फ २ जना प्रमुख सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने, ९ जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र ३ जना सहायक रथीको सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ।

