जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका अवसरमा मनसुनको अवस्था समेटेर आज दसैँ विशेष मौसम बुलेटिन जारी गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट बहिर्गमन भइसकेको छैन । हालको मौसम विश्लेषण अनुसार यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने आज साँझ जारी विशेष बुलेटिनमा उल्लेख छ ।
आज दिनभर के के भए ? मुख्य समाचारहरू ।
वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित
युएईमा आयोजित युनिटी कप अन्तरगतको पहिलो म्याचमा नेपालले वेस्ट इन्डिजलाई हराएको छ । नेपालको राष्ट्रिय टीमले कुनै पनि टेस्ट राष्ट्रलाई पहिलोपटक हराएको हो ।
‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘तोडफोड र आगजनी’ को उपज भएको आरोप लगाएका छन् । बडादसैंको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालको खुला कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारप्रति तीव्र आलोचना गरेका हुन् । ओलीले भने, ‘जेनजी सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको सरकार हो । यो सरकारलाई म भन्न चाहन्छु, मेरा अभिव्यक्तिहरु, बोलेका कुराहरु प्रकाशन गरेर जनताको बीचमा ल्याओस् । कर्मचारीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती बाहिर ल्याओस् । प्रहरीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती पनि बाहिर ल्याओस् । सबै क्षेत्रमा गरिएका कामहरू रेकर्डेड छन्, सबै बाहिर ल्याओस्। हामीले गरेका कामहरू रेकर्डेड छन्, त्यो पनि ल्याओस् ।’
सडकका २३४ रुग्ण ठेक्का तोडिने
सडक र पुल निर्माणका लागि सम्झौता गरिएका तर काम नगरी अलपत्र परेका २३४ वटा रुग्ण ठेक्का तोडिने भएका छन् । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्कामा यो कदम चालिने भएको हो । दमक कार्यालय अन्तर्गत ३८, काठमाडौं ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपहाडी लोकमार्ग १७ वटा ठेक्का रुग्ण अवस्थामा छन् । आयोजना तर्फ काम नगरी ठेक्का रुग्ण बनाउन संलग्न तत्कालीन र हालका जिम्मेवार कर्मचारीमाथि छानबिनका लागि समिति गठन गरिने भएको छ ।
कालोबजारी र ठगी नगर्न प्रशासनको आग्रह
ललितपुर जिल्ला प्रशासन कार्यालयले बडादसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत चाडपर्वका अवसरमा जिल्लावासी सबैलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिँदै उपभोक्ता हित विपरीतका गतिविधि नगर्न सरोकार भएका सबैलाई आग्रह गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्रीवितरण गर्नेलगायत उपभोक्ता हित विपरीतका कार्य नगर्न सचेत गराएको हो । सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएकोभन्दा बढी भाडा नलिन, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन र ट्राफिक नियम पालना गर्न जिल्ला प्रशासनले सबैलाई अनुरोध गरेको छ । चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न/नगराउन कार्यालयले सूचनामार्फत सबैलाई सचेत गराएको हो ।
‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै दुई जनाले नदीमा हाम फाले
चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन् । आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हाम फालेको अनुमान गरिएको छ । प्रहरी सहायक निरीक्षक शंकर पोखरेलले थानीयले नदीमा गएको भन्ने खबर दिएको र हालसम्म अवस्था अज्ञात रहेको बताउनुभयो । जानकारी आएलगत्तै पिप्लाङ प्रहरी चौकीले खोजी सुरु गरे पनि भेटाउन नसकिएको उनले जानकारी दिए । बेपत्ता भएका बुढा गाउँपालिकाको शिक्षा शाखामा ‘कम्प्युटर अपरेटर’ रहेको जनाइएको छ ।
मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोडभन्दा बढी राजस्व संकलन
लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले हालसम्म एक अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व संकलन गरेको छ । गत भदौमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार विभागले कोरोला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो । यो नाका भदौ ३० देखि पूर्ण रूपमा सञ्चालनमा आएको दुई हप्तामै राजस्व संकलनमा निकै सुधार आएको कार्यायल प्रमुख रमेश खड्काले जानकारी दिए । उनले दुई हप्ताको अवधिमा ७९१ मध्ये ७६९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास सम्पन्न गरी गन्तव्यतर्फ पठाइसकेको बताए ।
हमास विरुद्ध युद्ध जारी राख्ने घोषणा
संयुक्त राष्ट्र महासभामा आलोचक र प्रदर्शनकारीले घेरिएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्ने कुनै योजना नभएको स्पष्ट गर्दै आफ्नो देशले ‘काम समाप्त गर्नुपर्छ’ भनेर अवज्ञापूर्ण भाषण गरेका छन् । बढ्दो अन्तर्राष्ट्रिय अलगाव र आलोचनाबीच उनले भने, ‘पश्चिमी नेताहरू दबाबमा झुकेका हुन सक्छन्, तर इजरायल कहिल्यै झुक्दैन ।’उनको सम्बोधन सुरु हुनुअघि नै धेरै मुलुकका प्रतिनिधिहरू महासभा हलबाट सामूहिक रूपमा बाहिरिएका थिए । नेतान्याहुले आफ्ना शब्दहरू घरभित्र विभाजित इजरायली जनतालाई पनि लक्षित गरेका थिए । उनले हालै प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णयलाई ‘यहुदीहरू र निर्दोष जनताविरुद्ध आतंकलाई प्रोत्साहन गर्ने कदम’ भन्दै खारेज गरे ।