नेपाल विद्युत प्राधिकरण (नेवि प्रा) ले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् आपूर्ति लिने औद्योगिक तथा व्यापारिक ग्राहकलाई २१ दिनभित्र महसुल बक्यौता बुझाउन अल्टिमेटम दिएको छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै तत्काल बक्यौता तिर्न आग्रह गरेको हो। साथै, किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुकलाई बढीमा २८ महिनासम्म किस्ताबन्दी सुविधा उपलब्ध गराइने उल्लेख छ।
उर्जा मन्त्री कुलमान घिसिङले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नै डेडिकेटेड र ट्रंकलाइन प्रयोगकर्ताबाट बक्यौता असुलीलाई प्राथमिकता दिने घोषणा गरेका थिए। यसअघि पनि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले उद्योगी–व्यवसायीबाट उठ्न बाँकी रकम संकलनका लागि विशेष पहल गरेका थिए।