नयाँ पुस्ताको अभिलाषालाई राज्यव्यवस्थाले समेट्नै पर्छ : पूर्व राजा ज्ञानेन्द्र

  • प्रकाशित मिति : २०८२ आश्विन १२, आईतवार
  • नेपाल टेल संवाददाता

पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्यव्यवस्थामा समेट्नुपर्नेमा जोड दिएका छन्।

विजया दशमी तथा दीपावलीको अवसरमा जारी शुभकामना सन्देशमार्फत पूर्व राजाले नयाँ पुस्ताको मागलाई समर्थन जनाउँदै सरकारलाई त्यसलाई पूरा गर्न आग्रह गरेका छन्। उनले भने, ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्यव्यवस्थाले समेट्नै पर्दछ। विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ।’



यसपटकको दशैंमा उनले सर्वसाधारणलाई सार्वजनिकरूपमा टिका नलगाइदिने निर्णय गरेको उल्लेख गरेका छन्। जेनजी आन्दोलनका क्रममा सहिद भएका घटनाले देश शोकमग्न भएको र संवेदनशील अवस्था रहेको भन्दै यस निर्णय गरिएको उनले स्पष्ट पारेका छन्।

पूर्व राजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै, दशैंलाई पारिवारिक र सांस्कृतिक रूपमा मात्र सीमित गर्न बाध्य भएको बताए।

उनले शुभकामना सन्देशमा थपे, “सही, सत्य, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत हामीमा हुनैपर्दछ। जे भयो, अबको नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।”