यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

  • प्रकाशित मिति : २०८२ आश्विन १८, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि देशभरको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। महाशाखाले शनिबार राति सार्वजनिक गरेको बुलेटिन अनुसार देशका विभिन्न भू-भागमा अझै पनि अविरल वर्षाको प्रभाव रहनेछ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बाँकी भू-भागमा साधारण बदली रहनेछ। ती प्रदेशका पहाडी र तराई भू-भागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा पर्ने सम्भावना रहेको विभागले जनाएको छ।



त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी, मधेश र बागमतीका एक–दुई स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावना पनि रहेको विभागको भनाइ छ।

यसैगरी आइतवार दिउँसो कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने चेतावनी दिइएको छ।

राति भने देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। ती भू-भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ भने कोशी र बागमतीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी सोमबार दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। ती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी र तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

राति भने देशका अधिकांश भू-भागमा मौसम सुधार हुँदै जानेछ। पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना विभागले जनाएको छ।

विभागले विशेषगरी पहाडी र तराई क्षेत्रका नदी, खोलानाला आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।