इजरायल र हमासबीच शान्ति योजनामा सहमति भएको ट्रम्पको घोषणा

  • प्रकाशित मिति : २०८२ आश्विन २३, बिहीबार
  • नेपाल टेल संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बन्दीहरू छिट्टै मुक्त हुने दाबी समेत गरेका छन् । उनले इजरायलले सम्झौता भएको सीमासम्म सेना फिर्ता गर्ने बताएका छन् ।

ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले छिट्टै मध्यपूर्वको भ्रमण गर्ने तयारी छ । तर ट्रम्पले मध्यपूर्वको भ्रमण कहिले गर्ने भन्ने स्पष्ट भएको छैन ।



इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्ताहरूले हमास प्रतिनिधिमण्डलसँग सात घण्टा लामो वार्ता सम्पन्न गरेका छन् र अब इजरायली प्रतिनिधिमण्डलसँग अन्तिम सहमतिका लागि बार्ता हुने खबरमा उल्लेख छ ।

अमेरिकासँगै इजिप्ट र कतारका वार्ताकारहरू गाजामा युद्धविराम र इजरायली बन्दीहरूको मुक्तिका लागि सहमति खोज्ने प्रयासमा रहेका छन् । दुई वर्षअघि सन २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा झन्डै एक हजार दुई सयकाे ज्यान थियो भने दुई सय ५१ जनालाई बन्धक बनाइएको थियो ।

त्यसपछि इजरायले गाजामा आक्रमण तिब्र पारेको हो । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ६७ हजार एक सय ८३ जनाको ज्यान गएको छ, जसमा २० हजार एक सय ७९ बालबालिका पनि छन् ।