सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

  • प्रकाशित मिति : २०८२ आश्विन २७, सोमबार
  • नेपाल टेल संवाददाता

पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी मनोज केसीका अनुसार उनलाई आइतबार पक्राउ गरिएको हो ।

यो प्रकरण २०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट ०५८७ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसुङसँग सम्बन्धित छ । उनले ल्याएका दुई सुटकेसमा ७३ वटा बट्टामा ७३० थान भेप रहेको पाइयो, जसमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएको थियो । उक्त सुन भन्सारका तत्कालीन नासु रेवन्त खड्कालगायतको मिलेमतोमा बेचिएको अनुसन्धानले देखाएको थियो ।



त्यो सुन छुटाउन महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो । यसअघि सोही मुद्दामा उनका छोरा राहुल महरा पक्राउ परेर कारागार चलान भइसकेका छन् । दुई सुटकेस शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएर जाँच गर्दा भेप फेला परेको थियो । तर, ती भेपपछि साटिएको शंका लागेपछि २०८० वैशाख २६ गते भन्सारले सीआईबीलाई पत्राचार गरी अनुसन्धान गर्न आग्रह गरेको थियो ।

दुई महिनाको अनुसन्धानपछि सीआईबीले करिब ९ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको थियो । त्यसपछि भन्सारका नासु खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा र नीमा गुरुङलाई मतियार बनाएर मुद्दा चलाइएको थियो ।

महरा पक्राउ परेसँगै यो प्रकरणमा तेस्रो अभियोजन हुन लागेको हो । त्रिभुवन विमानस्थलमार्फत सुन भित्र्याउने चिनियाँ नागरिक लि हानसुङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलबीच निरन्तर सम्पर्क रहेको कल रेकर्ड सार्वजनिक भएको छ ।

यसअघि पनि अनुसन्धानको दायरामा परे पनि सत्ता र शक्तिको आडमा फाइल अघि बढ्न सकेको थिएन । अहिले भने सीआईबीले नयाँ प्रमाणका आधारमा अनुसन्धानलाई तीव्रता दिएको छ ।