काठमाडौँ । नेपाली कांग्रेस आगामी मंसिरमै १५ औँ महाधिवेशन गर्ने बाटोमा अघि बढेको छ । बुधबार विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइयो । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र गर्नुपर्ने व्यवस्था छ ।
विशेष महाधिवेशनको माग गर्दै संकलन गरिएको हस्ताक्षरबारे कार्यवाहक सभापति खड्काले बिहीबार केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराएका छन् । युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा बुधबार खड्कालाई २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको थियो । १४ औँ महाधिवेशनमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए । त्यो हस्ताक्षरको संख्या ५० प्रतिशतभन्दा माथि हो ।
त्यसपछि कार्यसम्पादन समिति कार्यवाहक सभापति खड्का र महामन्त्री गगन थापाबिच पटक–पटक भएका वार्ताले मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्ने बाटोमा पार्टी अघि बढेको हो ।
बिहीबारको केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन माग गर्ने, मंसिरमा नियमित महाधिवेशन हुनैपर्ने र मंसिरमा महाधिवेशन गर्न सकिँदैन कि भन्नेहरू नियमित महाधिवेशन मंसिरमै गर्ने बाटोमा अघि बढेको देखिएको छ ।
बिहीबारको बैठक सुरु गर्दै कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको माग राख्नेहरूका माग पनि मंसिरमै नियमित महाधिवेशन होस् भन्ने चाहना रहेकोमा आफू विश्वस्त रहेको बताए ।