जेनजी आन्दोलनका युवा अभियन्ता मिरज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा पार्टी घोषणा गर्ने तयारी गरेका छन्।
ढुंगानाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार सुनिश्चित गर्ने लगायतका एजेन्डासहित नयाँ दल दर्ता प्रक्रिया अघि बढाइने बताएका छन्।
‘देश गम्भीर मोडमा छ। निकास खोजिरहेको अवस्थामा नयाँ वैकल्पिक राजनीतिक शक्ति आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौं,’ ढुंगानाले भिडियो सन्देशमा भनेका छन्। उनले पार्टी गठनका लागि वार्ता समिति गठन भइसकेको पनि जानकारी दिएका छन्।
जेनजी आन्दोलनपछि राष्ट्रिय चर्चामा आएका ढुंगाना आन्दोलनका प्रमुख युवा नेतामध्येका हुन्। उनी सुशासन, पारदर्शिता र युवाको प्रतिनिधित्वको पक्षमा सक्रिय हुँदै आएका छन्।