काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर उनको परिवारलाई बुझाइएको छ । सोमबार साँझ धनगढी विमानस्थल पुर्याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको हो ।
जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बुझेका हुन्। उनको महाकाली घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
आजै दिउँसो उनको शव नेपाल ल्याइएको थियो ।
उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।