फ्रान्सको त्यो व्यस्त संग्रहालय, जहाँ ८ मिनेटमा लुटियो ८८ मिलियनका दुर्लभ गहना

  • प्रकाशित मिति : २०८२ कार्तिक ५, बुधबार
  • नेपाल टेल संवाददाता

सँधै जस्तै आइतबारको त्यो बिहान पनि विश्वकै सबैभन्दा धेरै भ्रमण गरिने फ्रान्सको पेरिसमा रहेको लूभर संग्रहालय पर्यटकहरूका लागि खुल्नै लागेको थियो, तर त्यहाँ कुनै चलचित्रको दृश्यजस्तै घटना घट्यो। पावर टुल्स र मेकानिकल लिफ्टसहित आएका चार मुखौटाधारी चोरहरूले ‘ग्यालरी अफ अपोलो’मा आक्रमण गरे। केवल आठ मिनेटको छोटो अवधिमा उनीहरूले फ्रान्सको शाही इतिहाससँग जोडिएका अमूल्य गरगहनाहरू लुटेर फरार भए।

फ्रान्सको सार्वजनिक अभियोजकले संग्रहालयकी ‘क्युरेटर’ लौरे बेकुआलाई उद्धृत गर्दै चोरी भएका गहनाको मूल्य ८८ मिलियन युरो (करिब १०२ मिलियन डलर) रहेको पुष्टि गरेका छन्। तर, श्रीमती बेकुआका अनुसार, यो आर्थिक क्षतिभन्दा पनि ठूलो क्षति फ्रान्सको ऐतिहासिक सम्पदामाथि भएको बताइन्।



के-के चोरी भयो?

चोरहरूले फ्रान्सको शाही इतिहासको एक हिस्सा नै चोरेर लगेका छन्। यी साधारण गहना थिएनन्। चोरी भएका वस्तुहरूमा सम्राट नेपोलियनले आफ्नी श्रीमतीलाई उपहार दिएको हीरा र पन्नाजडित हार, नेपोलियन तृतीयकी श्रीमती महारानी इउजेनीले लगाउने गरेको प्रसिद्ध टिआरा (राजमुकुट) र रानी मेरी-अमेलीसँग सम्बन्धित अन्य दुर्लभ वस्तुहरू समावेश छन्।

श्रीमती बेकुआले आरटीएल रेडियोसँग भनिन्, ‘यो रकम असाधारण हो।’ उनले गहनाको मूल्य सार्वजनिक गर्नुको पछाडि एउटा भावुक कारण रहेको बताइन्। उनले भिनिन् ‘यदि तिनीहरूले ती गहना पगाल्नेजस्तो एकदमै खराब निर्णय गरे भने, त्यसबाट उनीहरूले सम्पूर्ण नाफा पाउने छैनन्।’

यो सन्देशले चोरहरूलाई ती अमूल्य वस्तु नष्ट गर्नबाट रोक्ने उनको झिनो आशा छ। यो गहनाको एतिहासिक महत्वको मूल्य हो न कि पगालेर बेच्दा पाउने मुल्य।

कसरी भयो चोरी?

चोरीको शैली कुनै हलिउड चलचित्रको भन्दा कम थिएन। व्यावसायिक देखिने ती चोरहरूले साइन नदीतर्फको बाल्कनी हुँदै प्रवेश गर्न एक मेकानिकल लिफ्ट भएको ट्रक प्रयोग गरेका थिए।

तीमध्ये दुईजनाले ब्याट्रीबाट चल्ने डिस्क कटरले पहिलो तल्लाको सिसा काटेर संग्रहालयभित्र प्रवेश गरे। भित्र रहेका सुरक्षा गार्डहरूलाई धम्क्याएपछि गार्डहरूले भवन खाली गरेका थिए। जम्मा आठ मिनेटको अवधिमा उनीहरूले सबैभन्दा मूल्यवान् वस्तुहरू लिएर फरार भए।

चोरहरूले भाग्नुअघि संग्रहालय बाहिर आफ्नो गाडीमा आगो लगाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका थिए, तर एक कर्मचारीको हस्तक्षेपले त्यो सफल हुन सकेन। पछि उनीहरूलाई स्कुटरमा भाग्दै गरेको देखिएको थियो। अनुसन्धानकर्ताहरूले चोरहरूको भाग्ने बाटोमा महारानी इउजेनीको एउटा क्षतिग्रस्त मुकुट फेला पारेका छन्। हतारमा भाग्दा उनीहरूले त्यो खसालेको अनुमान छ।

सुरक्षामा गम्भीर चुक

यो चोरीले फ्रान्सको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। प्रारम्भिक प्रतिवेदनले लूभरका तीनमध्ये एक कोठामा सिसीटीभिनै नभएको र सम्पूर्ण सुरक्षा अलार्म प्रणाली पनि सक्रिय नभएको जस्तो गम्भीर लापरबाहीको उजागर गरेको छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले यसलाई ‘फ्रान्सको सांस्कृतिक सम्पदामाथिको आक्रमण’ भनेका छन्। न्याय मन्त्री जेराल्ड डार्मानिनले सुरक्षा प्रोटोकल ‘असफल’ भएको स्वीकार गर्दै भने, ‘चोरहरूले परिमार्जित ट्रक लिएर संग्रहालयसम्म पुग्न सफल हुनुले फ्रान्सको छवि अत्यन्तै खराब बनाएको छ।’

सधैँका लागि हराउने डर

चोरीको दुई दिनभन्दा बढी समय बितिसक्दा पनि चोरहरू पक्राउ परेका छैनन्। यसले गर्दा विज्ञहरूले ती गहनाहरू सधैँका लागि हराइसकेको हुन सक्ने डर व्यक्त गरेका छन्।

कला पुनःउद्धारका विज्ञहरूका अनुसार, यतिबेलासम्म ती व्यावसायिक चोरहरूले गहना तोडफोड गरिसकेका हुन सक्छन्। ती हीरा, पन्ना र बहुमूल्य धातुहरूलाई छुट्याएर, देश बाहिर तस्करी गरी वास्तविक मूल्यको सानो अंशमा बेचिसकेको हुन सक्ने उनीहरूको डर छ।

यदि त्यसो भएमा, नेपोलियनको प्रेमको चिनो र फ्रान्सको गौरवशाली इतिहासका यी प्रतीकहरू संग्रहालयमा फेरि कहिल्यै देख्न पाइने छैन। जसले एउटा एतिहासिक सम्पति सदाका लागि फ्रान्सले गुमाउने छ।