गृहमन्त्री छालाको जुत्ता लगाएर पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेका हुन् ?

  • प्रकाशित मिति : २०८२ कार्तिक ७, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथको मूल मन्दिर प्रवेश गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

कात्तिक ५ गते बुधबार गृहन्त्री अर्यालले परिवारसहित पशुपति क्षेत्रको निजी भ्रमण र यहाँका मुख्य मुख्य मन्दिरमा दर्शनका लागि पुगेका थिए । त्यसपछि सार्वजनिक भएको तस्बिरमा उनी छालाको जुत्तामा देखिएका थिए ।



आलोचना भएपछि पशुपति क्षेत्रविकास कोषले निषेधित क्षेत्रमा जुत्ता लगाएर प्रवेश नगरेको कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जनाएका छन् ।

मन्दिरभन्दा बाहिरको नैऋत्य कोणमा बनाइएको ढोकाअघि खिचेको तस्बिर सेयर गरी सामाजिक सञ्जालमा गलत प्रचार गरिएको पनि उनले स्पष्ट पारे ।

विसं २०५९ मा वसन्त चौधरी कोषको सदस्य सचिव हुँदा खोलिएको ढोकाअघि गृहमन्त्रीले तस्बिर खिचाएको उनको दाबी छ । आर्यघाट हुँदै गुह्येश्वरी मन्दिरतिर जाने बाटोसँगै त्यस पेटीमा गृहमन्त्री अर्याल परिवारसहित निमित्त सदस्य सचिव र एक जना पण्डित पनि भएको तस्बिरलाई गलत रूपमा सामाजिक सञ्जालमा प्रचार गरिएको कोषको दाबी छ ।

बुधबार गृहमन्त्री अर्यालले पशुपतिनाथ, मृगस्थलीस्थित गोरखनाथ गुह्येश्वरी मन्दिरमा दर्शन गरेको कोषले जनाएको छ ।