नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि संयुक्त उपक्रम (जेभी) र सेयरहोल्डर सम्झौतापत्रमा बुधबार नयाँ दिल्लीमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा नेपालतर्फ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारततर्फ विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितिमा हस्ताक्षर भएको थियो। नेपाल विद्युत प्राधिकरणतर्फबाट उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्र र पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडतर्फ अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्जय कुमार गुप्ताले हस्ताक्षर गरे।
हस्ताक्षरसँगै दुवै देशमा प्रसारणलाइन निर्माणका लागि जेभी कम्पनी स्थापना गर्ने बाटो खुलेको छ। भारतीय भूभागमा पर्ने खण्डको कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ४९% र पावर ग्रिडको ५१% सेयर हुनेछ भने नेपाली भूभागमा पर्ने खण्डको कम्पनीमा प्राधिकरणको ५१% र पावर ग्रिडको ४९% सेयर रहनेछ।
इनरुवा–पूर्णिया प्रसारणलाइनको करिब २६ किलोमिटर नेपाली र १०९ किलोमिटर भारतीय भूभागमा, लम्की–बरेली लाइनको करिब ३३ किलोमिटर नेपाली र १८५ किलोमिटर भारतीय भूभागमा निर्माण हुनेछ। दुबै लाइनको निर्माण ८०% ऋण र २०% सेयर पुँजीको व्यवस्थामा हुनेछ।
मन्त्री घिसिङले यसले नेपाल–भारत तथा क्षेत्रीय स्तरमा विद्युत व्यापार विस्तार, अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्म पहुँच र स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्ने आधार तयार पार्ने बताए। भारतीय मन्त्री खट्ठरले यसले दुई देशबीच विद्युत विनिमय सुदृढ गर्ने र क्षेत्रीय ऊर्जा सुरक्षा बलियो बनाउने उल्लेख गरे।
हाल नेपाल–भारतबीच ढल्केबर–मुजफ्फपुर ४०० केभी पहिलो क्रस बोर्डर लाइन सञ्चालनमा छ। बुटवल–गोखरपुर दोस्रो लाइन निर्माणाधीन छ भने नेपाल–भारतबीच २२० केभी प्रसारणलाइन निर्माणको सहमति भइसकेको छ।