आगामी निर्वाचनमा भाग लिन नयाँ मतदातालाई प्रधानमन्त्रीको सन्देश

  • प्रकाशित मिति : २०८२ कार्तिक २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवालाई मतदानमा सहभागी हुन अपिल गरेकी छन् ।

‘जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं-हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ ।’ प्रधानमन्त्रीले सन्देशमा भनेकी छन् ।



लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभूत साधन छन् रहेको भन्दै प्रधानमन्त्री कार्कीले पहिलो नागरिकको विवेक रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘त्यो विवेक जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन ।’

‘दोस्रो त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परिचय पत्र । जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईँ-हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ । अथवा, यहाँहरु आफैं सही प्रतिनिधि बन्नुपर्छ ।’ प्रधानमन्त्री कार्कीले सन्देशमा भनेकी छन् ।

विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्न उनले आह्वान गरेकी छन् । ‘मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं ।’ प्रधानमन्त्री कार्कीको सन्देशमा भनिएको छ ।