नेपालको विस्फोटक जित ! भारत ३ ओभरमै ४५ रनमा धराशायी, ९२ रनले पराजित

  • प्रकाशित मिति : २०८२ कार्तिक २२, शनिबार
  • नेपाल टेल संवाददाता

नेपालले हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको दोस्रो खेलमा भारतमाथि शानदार जीत दर्ता गरेको छ। शक्तिशाली ब्याटिङ र धारिलो बलिङ प्रदर्शनका साथ नेपालले भारतलाई ९२ रनले हराउँदै प्रतियोगितामा पहिलो जित हात पारेको हो।

१ सय ३८ रनको लक्ष्य पछ्याएको भारत नेपाली बलरहरूको घातक बलिङ सामना गर्न नसकी ३ ओभरमै सबै विकेट गुमाएर ४५ रनमै समेटियो।
नेपालका राशिद खानले १ ओभरमा ३ विकेट लिँदै भारतको शीर्षक्रम ध्वस्त पारे भने बसिर अहमदले २ र रुपेश सिंहले १ विकेट हात पारे।



यसअघि टस जितेर फिल्डिङ रोजेको भारतले नेपाललाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेको थियो। नेपालको ओपनिङ जोडीले विना विकेटको क्षतिमा १ सय ३७ रनको विशाल योगफल तयार गर्‍यो।

ओपनर राशिदले धमाकेदार ५५ रन बनाउँदै ६ छक्का र ४ चौका प्रहार गरेपछि रिटायर्ड हर्ट भए। उनका जोडीदार सन्दीप जोराले १२ बलमा ५ छक्का र ४ चौकासहित ४७ रनको योगदान दिए। लोकेश बमले पनि ७ बलमा ३१ रन ठोकेका थिए।

यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ३ विकेटले पराजित भएको थियो। तर दोस्रो खेलमा भारतमाथिको यो ऐतिहासिक जितले नेपाललाई प्रतियोगितामा पुनः बलियो दाबेदारको रूपमा उभ्याएको छ।